काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ओली गुट बाहिरिएसँगै पार्टीभित्र अराजकता, अन्योलता र निरंकुशता बढ्न थालेको बताएका छन् ।
शनिबार भर्चुअल माध्यमबाट नेकपा माओवादी केन्द्रका स्थानीय तह र पार्टी शाखा समितिको सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
१० वर्षे माओवादी जनयुद्धलाई स्वीकार गरी देशमा आएको आमूल परिवर्तनलाई साक्षी राख्दै तयार पारेको नेकपा एकताको दस्तावेजलाई ओली गुटले लत्याएको प्रचण्डको भनाइ छ । एकता प्रक्रियामा जाँदै गर्दा दुई अध्यक्षको समान हैसियत र कार्याभार समान रहने भनिएता पनि नेकपा एकता अप्राकृतिक षड्यन्त्रको जालोमा परेको उनले बताए ।
ओलीलाई मलजल गर्ने बाह्य तत्व, दक्षिणपन्थी अराजक गतिविधिले एकता फुटाएपनि दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्ने जमर्काेलाई माओवादी पार्टीले असफल बनाएको उनको दावी छ ।