यूवा संघले टुङ्ग्याए महाधिवेशन प्रतिनिधि, अध्यक्ष पौडेलदेखि यूथफोर्स सह–संयोजक श्रेष्ठसम्म चयन

काठमाडौं । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको लागि राष्ट्रिय युवा संघ नेपालले प्रतिनिधिको नाम टुङ्ग्याएको छ । केन्द्रीय पदाधिकारीहरुको बैठक बसेर युवा संघ नेपालले प्रतिनिधिको नाम टुङ्ग्याएको हो ।

महाधिवेशनका लागि युवासंघबाट केन्द्रीय अध्यक्ष किरण पौडेल, कान्ति बुर्लाकोटी, उपाध्यक्ष अञ्जना अधिकारी, उपाध्यक्ष एंव युथ फोर्स सह–संयोजक पुष्प श्रेष्ठ र महासचिव रमेश आचार्य प्रतिनिधि चयन भएका छन् ।

एमालेको जनवर्गिय संगठनमा क्रियाशिल संगठन युवा संघ नेपालले पछिल्लो समय राजनीतिक गतिविधिदेखि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु समेत संचालन गरिरहेका छन् । लगातार सक्रिय रहेको युवा संघले युवाहरुको सकरात्मक सोच सहित 'म केही गर्छु' शिर्षकमा छोटो चलचित्रको प्रतिस्पर्धा आयोजना गरिरहेको छ ।

यस्तै स्वास्थ्य सामाग्री वितरणदेखि वृक्षारोपणमा समेत युवा संघ सक्रिय हुँदै आएको छ । पछिल्लो समय आम युवाहरु युवा संघप्रति सकरात्मक रहेको र आकर्षण बढेको संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले बताए ।

महाधिवेशन लक्षित गरेर युवा संघले केहीदिन अघि काठमाडौंमा बृहत बाईक र्यालीको समेत आयोजना गरेको थियो । चितवनमा हुने महाधिवेशनमा संघले २५ हजार युवालाई उपस्थित गराउने लक्ष्य राखेको महासचिव रमेश आचार्यले क्विक नेपाललाई बताए ।

नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट युवा संघका उप–महासचिव रामजी सापकोटा पनि प्रतिनिधिको रुपमा सर्वसम्मत चयन भईसकेका छन् । यस्तै कालिकोटबाट वकिल बम, धादिङबाट दीपक खतिवडा प्रतिनिधिको रुपमा चयन भईसकेका छन् । दुबै जना युवा संघ नेपालका स्थायी कमिटी सदस्य हुन् । यस्तै युवा संघ नेपालबाट थप केही प्रतिनिधि मनोनयन हुनसक्ने बताइएको छ ।

महाधिवेशन मूल आयोजक समितिले युवासंघबाट प्रतिनिधि मनोनित गर्दा उपाध्यक्ष एंव युथ फोर्स संयोजक क्षितिज थेवे र उपाध्यक्ष अशोक चौलागाई मनोनित हुनसक्ने संभावना बलियो छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.